प्रधानमन्त्रीले राजपा नेतासँग दुखेसो पोख्दै भने, ‘मलार्इ कसैले टेरेन’

| 2018 Oct 09 | 06:47 am 1665

काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति राष्ट्रिय जनता पार्टीका नेताहरुसँग आफूलार्इ कसैले नटेरेकोले समस्या बढ्दै गएको दुखेसो पोखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनमा भएको छ।’

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए। प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ राजपाको माग दसैंसम्म पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्न नपाउँदै अध्यक्ष ठाकुरले ‘तपार्इंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले तत्कालै भने, ‘मधेसको माग पूरा गर्ने काम यथाशीघ्र अघि बढाउन सकिनँ। परिस्थितिले मलाई साथ दिएन। अब म यो काम गरेरै छाड्नेछु।’ नेपाल र नेपालीको काममा किन कसैले सहयोग गर्दैन आफू आश्चर्यमा परेको भन्दै उनले आगामी दिनमा फेरि तीनबुँदे कार्यान्वयन नभएको गुनासो तपाईंहरूबाट आउनदिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी एकतापछिका समस्याले पनि आफूले काम गर्ने पर्याप्त समय नपाउँदा तिहारसम्म संविधान संशोधन गरिसक्ने उनले बताए।

प्रधानमन्त्रीसँग राति ७ बजेदेखि ९ बजेसम्म भएको वार्तामा अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए।

राजपाले कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाइलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ। तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए राजपा समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा दिइएको छ। ज्ञापनपत्रमा ‘एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य नहोस्, त्यस्तो भए त्यसको सम्पूर्ण जिम्मेवार ओली सरकार नै हुनेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.