काठमाडौं, भदौ ५ : प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।
मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे । उनले प्रधानमन्त्रीको काम प्रदेशसभाको बैठकमा गएर भाषण दिने र मिडियामा अन्तर्वाता दिएर रोइलो गर्ने मात्रै नरहेको बताए।
अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नु पर्ने काम गर्नुस्’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’
प्रधानमन्त्रीको व्यवहारले उनी संघीयता विरोधी देखिएको आरोपसमेत थापाले लगाए । झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरे ।
आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बने पनि नियमावली नभएको भन्दै उनले नियमावली नहुँदा करमा समस्या देखिएको बताए ।