काठमाडाैं, चैत २५ः प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकार पूर्ण तयारीका साथ जुटेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा साथ दिएकोमा नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।
कोभिड-१९ कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे चर्चा गरेका थिए।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले अहिले हजारौं जनाकाे काेराेना भाइरस परीक्षणकाे तयारी अगाडि बढाएको पनि बताए । उनले सातै प्रदेशमा पिपिइ १ हजार ४८ थान, गाउन ११ हजार ८ सय १९ थान, एन-९५ मास्क १२ हजार ३ सय ४५ थान र मास्क ५ लाख ५६ हजार २ सय ६१ थान व्यवस्था गरिएको पनि जानकारी दिए।
काेही श्रमिक भोकै पर्नुनपरोस्, कसैको पनि संकटमा जागिर नगुमोस् भनेर सरकार चिन्तित रहेकाे प्रधामन्त्रीले बताए । अर्थतन्त्रलाई गतिशील राख्न सरकार क्रियाशील रहेकाे र कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्कर्मीप्रति सरकार संवेदन रहेकाे पनि उनले बताए ।
कोरोना भाइरसविरुद्धकाे लडाइँ आम नेपालीको सामूहिक लडाइँ रहेकाे बताउँदै उनले प्रत्येक नागरिकले सिपाही बनेर उभिनु पर्ने धारणा राखे ।