प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आब्हान

रिपोर्ट नेपाल | 2020 Mar 29 | 12:19 pm 1600

काठमाडौं, चैत १६: विश्वभर कोरोनाभाइरसको (कोभिड–१९( को महामारी फैलिरहेको बेला नेपालमा रोकथाम र नियन्त्रणका लागि थप निर्णय लिन आइतबार मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

चैत ११ गतेदेखि १८ गतेसम्म लागू गरेको ‘लकडाउन’ थप एक हप्ता लम्ब्याउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ ।

कोरोनाभाइरसको संक्रमण मुलुकमा थप फैलन नदिने एउटा मात्र विकल्प जनतालाई घर भित्रै राख्नुपर्ने भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए ।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

यस्तै, सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजारा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

केही स्थानीय तहले वडा कार्यालयमार्फत् विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रवन्ध गर्ने तयारी भइरहेको छ ।

यस्तै, कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भएको छ । भारतमा लकडाउनको अवज्ञा भइरहँदा त्यसको असर नेपालको सीमा क्षेत्रमा नपरोस् भनेर सुरक्षा संयन्त्रलाई सतर्क गराइएको छ ।

यसैगरी, चीनबाट ल्याइएका मेडिकल सामग्री कोरोनाको उपचारका लागि तोकिएका र अन्य अस्पतालहरुलाई वितरण गर्नेगरी मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिनसक्ने एक मन्त्रीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.