भक्तपुर, चैत २८ : जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान गरिएको छ।

एक विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना महिला, ५५ जना पुरुष, २ जना विदेशी र ११ जना पदिक/हुद्धा अधिकृत क्याडेट गरी जम्मा ७७ जना अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका छन्।
उक्त अवसरमा नव आयुक्त अधिकृतहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेना संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै लैजानुपर्ने बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्न सक्षम एक बहुआयामिक संगठनको रुपमा विकसित भएको हुँदा नवनियुक्त अधिकृतहरुले सैनिक जिम्मेवारीहरु सैनिक आचरण, चेन अफ कमाण्ड र अनुशासनलाई ह्दयंगम गर्दै आफ्नो दायित्व प्रति सदैव सजग, सतर्क र कर्तब्यनिष्ठ रहने कुरामा आफू विश्वस्त रहेको जनाए ।
चौबीस महिनाको कठिन तथा निरन्तर अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरी सोही अवधिमा त्रिभुवन विश्व विद्यालयबाट स्नातक तहमा समेत दिक्षित भएकोमा दुवै सफलताको लागि बधाई दिएका थिए ।

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ३ नम्बर प्रदेशका प्रदेश प्रमुख, भक्तपुर जिल्लाका सांसद, प्रधानसेनापति, रक्षा सचिव, पूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्यदर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।