धनगढी, असोज ९ : प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको ‘गोदावरी’ लाई प्रस्ताव गरेको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो ।
यसअघिको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेका जिल्लाहरु नै हाल प्रदेश ७ मा रहेका छन् । प्रदेशसभा ७ ले प्रदेशको नाम र राजधानी तोक्न नेकपाका सांसद तारा तामाङ लामाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको थियो ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ हाल सेनाको तेघरी ब्यारेकभन्दा उत्तरपश्चिम, धनगढी–डडेल्धुरा सडकदेखि पश्चिममा रहेको सार्वजनिक जग्गामा राजधानी प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएको स्थान जंगल क्षेत्र भएपनि हाल त्यहाँ बुट्यानमात्र छन् । प्रस्तावित स्थान धनगढीदेखि २० किलोमिटरको दुरी तथा अत्तरियादेखि करिब ४ किलोमिटर अगाडी चुरेको फेदीमा पर्दछ । गोदावरीमाथि पहाडी भु–भाग सुरु हुन्छ ।