प्रदेश ५ सरकार महिला मैत्री छ : मन्त्री आरती पौडेल

रिपोर्ट नेपाल | 2019 Mar 06 | 05:27 pm 2202

बुटवल फागुन  २२ : महिला अधिकारको लडाइ अझै बाँकी रहेको सरोकारवालाले बताएका छन् । नेपालमा अधिकारका नाममा कानुन बनेपनि कार्यान्वयनको पाटो निकै दयनीय रहेको उनीहरूको निष्कर्ष छ ।

१०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब प्रदेश ५ बुटवलद्वारा आयोजित महिला आन्दोलन र अधिकार विषयक साक्षात्कारमा बोल्ने वक्ताहरूले नीतिगत रूपमा केही अधिकार प्राप्त भए पनि व्यवहारिक रूपमा अधिकार पाएको अनुभूति नभएको बताएका हुन् ।

प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश ५ सरकार अन्य प्रदेशको तुलनामा महिला मैत्री भएको दाबी गरिन् । उनले भनिन्, ‘अरू प्रदेशको तुलनामा हाम्रो प्रदेश नमुना बनेको छ, मैले महिला भए पनि पुरुषले पनि यहाँ महिलाका अधिकारका कुरा उठाइरहनुहुन्छ ।’

पौडेलले सबैको सहकार्यबाट मात्र महिलाका अधिकार प्राप्त हुने बताइन् । सबैलाई समान दृष्टि र व्यवहार हुने कानुन बनाएको उनको भनाइ छ । मन्त्री पौडेलले महिला अधिकारका लागि ककस बनाउनुपरेपनि आफू तयार रहेको समेत प्रस्ट पारिन् ।

प्रदेश ५ नेपाली काँग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले नेपालमा महिलाहरूलाई यो वा त्यो बहानामा यातना दिने क्रम नरोकिएको बताइन् । उनले अधिकार दिनुपर्छ भनेपछि धेरै स्थानमा महिला हिंसा ,हत्या र आतङ्क नै फैलिएको बताइन् ।

तराइमा बालविवाह, दाइजोप्रथा, पहाडमा बोक्सीप्रथा, छाउपडी लगायतका कुरीति अन्त्यका लागि सबैले साझा पहल गर्नुपर्ने धारणा राखिन् ।
बुटवल उपमहानगर पालिकाका उपप्रमुख गुमादेबी आचार्यले बुटवल उपमहानगरलाई सबैप्रकारको हिंसा मुक्त सहर बनाउने प्रक्रिया सुरु भइसकेको बताइन् । आचार्यले श्रमबजारलाइ व्यवस्थित गर्नका लागि नयाँ योजना बनाइरहेको जानकारी दिइन् ।

त्यस्तै दलित मुक्ति मोर्चाकी नेता तथा अधिकारकर्मी गोमती सुनार र अमृता अधिकारीले नीति बनेपनि व्यवहार नसुर्धेको बताइन् । समाज उस्तै भएकाले बदल्न सबै एक हुनुपर्ने उनको धारणा छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी सचिव राधिका हमालले नेपालका महिलाहरूले धेरै अधिकार पाएको भन्दै पाएको अधिकारलाई उच्चतम प्रयोग गर्न आग्रह गरिन् ।

हमालले विश्वका महिलाहरू अधिकारका लडाइमा रहिरहेको भन्दै नेपालमा अधिकार पाएकाले धेरै कुण्ठा मात्रै गरेर बस्न नहुने बताइन् ।
सञ्चारिका समूह प्रदेश ५ का महासचिव अमृता अनमोलले अधिकारका नाममा समाज विभाजित बन्न थालेको भन्दै लक्षित वर्गलाई छुट्टाइएको बजेट र अधिकार स्थानीय तहले कटौती गरेको गुनासो गरिन् । उनले लक्षित वर्गका कार्यक्रम अभियान मुखी नभएर परियोजना मुखी बन्दा ठोस परिणाम निस्कन नसकेको उनको निचोड थियो ।

महिला हिंसा न्युनिकरणका लागि सबैले घरबाटै सार्थक अभियान थाल्नुपर्ने बताइन् । रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेशका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य तथा कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.