कास्की, जेठ २२: प्रदेश ४ को नाम गण्डकी राख्ने लगभग निश्चित जस्तै भएको छ । संसदमा सहभागी ५ दलमध्ये पूर्व एमाले, प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनमोर्चा प्रदेशको राजधानी पोखरा र नाम गण्डकी राख्ने राजी भएका छन् ।
सो दलहरूका सांसदहरू नामांकन र राजधानीका विषयमा एकमत भएसपछि प्रदेशको राजधानी र नाम लगभग टुंगोमा पुगेको हो । प्रदेशको राजधानी पोखरा रहने विषय निर्विवाद जस्तै रहे पनि नामांकनको विषय भने पेचिलो बनेको थियो ।
यता, पहिचानसहितको नामांकन हुनुपर्नेमा जोड दिँदै आएको पूर्वमाओवादी मौन रहेपछि नामांकनको विषय लगभग टुंगोमा पुगेको हो ।
यसअघि १२ चैतमा बसेको प्रदेश ४ को संसद बैठकले नेपालको संविधानको धारा–२८८ को उपधारा–२ र प्रदेशसभा नियमावलीको नियम–१५२ वमोजिम प्रदेश राजधानी र नामकरणका लागि ११ सदस्यीय समिति गठन गरेको थियो ।
गठित समितिको पहिलो पटक १० दिन र दोस्रो पटक १ महिना म्याद थप गरी नाम र राजधानीको नाम समावेश गरेर प्रतिवेदन तयार पारेको थियो ।
प्रतिवेदन सोमबारको प्रदेशसभा बैठकमा समितिका सभापति विन्दुकुमार थापाले पेश गरेका छन् । प्रदेश ४ मा तत्कालिन एमाले र माओवादीका २७ र १२ गरी ३९, कांग्रेसका १५, जनमोर्चाका ३ र नयाँ शक्तिका २ सांसद छन् ।
एमाले र माओवादी एकीकरण भएर नयाँ पार्टी गठन भएपनि प्राविधिक कारणले संसदमा भने हाल दुई दलको हैसियतमा कायमै छ ।
यता, नयाँ शक्तिले राजधानी पोखरा र नाम गण्डकी–तमुवान, गण्डकी र अन्नपूर्ण गरी ३ मध्ये १ उपयुक्त हुने भन्दै आफ्नो दलगत धारणा बुझाएको समितिका सभापति थापाले जानकारी दिए ।
प्रदेशको नामांकन र राजधानीका विषयलाई अन्तिमरूप दिन दुई तिहाई सांसदको समर्थनको चाहिन्छ । संविधानको धारा २९५ मा ‘प्रदेशको नाम र राजधानी सम्वन्धित प्रदेश सभामा कायम दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने’ उल्लेख छ ।
नामांकन र राजधानीका बारेमा एकमत देखिएका एमाले, कांग्रेस र जनमोर्चाका सांसद संख्या नै दुई तिहाई भन्दा बढी अर्थात् कुल ५९ संसद मध्ये ४५ जना छन् ।