काठमाडौं, जेठ २१: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । नेपालको संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने सम्बन्धी कुनै व्यवस्था छैन ।
प्रदेश ३ को मंगलबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीले संसद बैठकमा विकास र यसको सम्भावनाबारे धारणा व्यक्त गर्ने भएका छन् ।
संविधान र प्रदेश नियमावलीमा कुनै व्यवस्था नभएपनि विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ ।
त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् । यसअघि प्रधानमन्त्री ओलीले वैशाख १६ मा प्रदेश ५ को सभालाई सम्बोधन गरेका थिए । उनले अन्य प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने योजना बनाएका छन् ।