धनुषा, कार्तिक १२ : प्रदेश नं २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।
प्रदेश नं २ मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन्। सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको उनले जानकारी दिए।
स्थायी राजधानीको विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामाङ्कनका विषयमा मतभिन्नता देखिएको छ। सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रेसलगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।
आयोगले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, सङ्घसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव संकलन गर्नेछ ।