प्रदेश सातमा मुख्मन्‍त्री भट्ट सबैभन्दा गरिब र धनी मन्‍त्री झपट बोहरा

रिपोर्ट नेपाल | 2018 May 29 | 09:07 am 3634

काठमाडौं, जेठ १५: प्रदेश नम्बर सातको सरकारको सम्पत्ती विवरण सार्वजनिक गरिएको छ । सपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी प्रावधान रहेपनि सरकार गठनको सय दिन पुगेपछि प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीको सम्पत्ती विवरण मंगलबार सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सबभन्दा बढी गरिब मुख्यमन्त्री त्रीलोचन भट्ट देखिएका छन् भने सबैभन्दा धनी मन्त्री झपट बोहरा रहेका छन् ।

मुख्यमन्‍त्री भट्टको बैंक खातामा ७० हजारबाहेक उनको नाममा कुनै अचल सम्पत्ती छैन।उनले डोटीको केआईसिंह गाउँपालिका ६ मा दाजु सालीग्राम भट्टको नाममा एक घर र १८ रोपनी जग्गा, भाउजु दुर्गादेवीको नाममा ढाईरोपनी जग्गा सम्पत्ती विवरणमा पेश गरेका छन्।

मुख्यमन्त्रीसँग एक तोला सुन र १५ तोला चाँदी छ भने घरमा एक गाई, एक थान मोबाइल र हाते घडी रहेको छ। उनले वित्तिय ऋण एक लाख ४० हजार र बाहिरको ऋण दुईलाख रहेको सम्पत्ती विवरणमा पेश गरेका छन्।

यस्तै प्रदेश ७ मा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा सबैभन्दा धनी देखिएका छन्। उनीसँग ७ लाख २९ हजार ४२९ कित्ता सेयरको ७ करोड ५१ लाखको सम्पत्ती रहेको छ।

उनले श्रीमती दुर्गा बोहराको नाममा कैलालीको धनगढी नगरपालिकामा साढे चार कट्ठा जग्गा, उनकै नाममा लम्कीचुहा नगरपालिकामा ४ कट्ठा १५ धुर जग्गा र टीकापुरमा दुई विगाहा १६ कट्ठा जग्गा, काठमाडौं ७ मा एक रोपनी तीन आना जग्गा र काठमाडौं ४ मा १६०९ वर्गमीटर जग्गा रहेको उल्लेख गरेका छन्।

मन्त्री बोहरा आफ्नै नाममा काठमाडौं ४ मा १५९८ वर्गमीटर जग्गा, कैलालीको गोदावरी २ मा ४ रोपनी दुई आना जग्गा, टीकापुर ९ मा २ कट्ठा जग्गा रहेको सम्पत्ती विवरण पेश गरेका छन्।

उनले छोरा कृष्ण बोहराको नाममा गोदावरी नगरपालिकामा एक रोपनी जग्गा रहेको उल्लेख गरेका छन्। बोहराको बैंकमा साढे ६ लाख रकम, तीनवटा जीप र कार, ४० तोला सुन पनि सम्पत्तीको रुपमा रहेको छ।बोहराले १९ करोड ७५ लाख रकम बैकिङ ऋण रहेको पनि सम्पत्ती विवरणमा खुलाएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पनि पत्नीको नाममा मात्रै सम्पत्ती रहेको विवरण पेश गरेका छन्। पत्नी लक्ष्मी भट्टको नाममा काठमाडौंको गोठेटारमा तीन आनामा बनेको घर, कैलालीको धनगढी उपमहानगरपालिका ४ मा साढे ६ कट्ठा जग्गा र कञ्चनपुरको दैजीमा १६९३ वर्गमीटर जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन्।

उनको खातामा ७३ हजार नगद रहेको, एउटा स्कुटर, ५२ तोला सुन, ५०५ तोला चाँदी, भैंसी १, बाख्रा १ सम्पत्तीको रुपमा रहेको उल्लेख गरेका छन। शाहले ७ लाख २० हजार वित्तिय ऋण रहेको पनि विवरणमा उल्लेख गरेका छन।

सामाजिक विकास मन्त्री दीर्घ सोडारीले पेश गरेको सम्पत्ती विवरणमा श्रीमती र आफन्तको नाममा मात्रै अचल सम्पत्ती देखाएका छन्। बुवा लोकबहादुर सोडारीको नाममा कैलालीको गौरीगंगा नगरपालिकामा १५ कट्ठा जग्गा र घर, बुवाकै नाममा अछामको मंगलसेनमा ४ रोपनी जग्गा र घर, दाजु कल्यान सोडारीको नाममा कैलालीको गौरीगंगा नगरपालिकामा ५ कट्ठा जग्गा, लम्की चुहा नगरपालिकामा ५ कट्ठा जग्गा रहेको उल्लेख गरेका छन्।

मन्त्री सोडारीले श्रीमती गीता सोडारीको नाममा धनगढी उपमहानगरपालिका १ मा १२ धुर जग्गा, उनकै नाममा एक कट्ठा जग्गा र घर, बबीन मसाला उद्योगको नाममा एक कट्ठा जग्गा र घर रहेको विवरण पेश गरेका छन्।

मन्त्री सोडारीको बैंक खातामा ५ लाख ६० हजार, मोटरसाइकल २ थान, ६ तोला सुन, २० तोला चाँदी, २० कित्ता सेयर, १० बाख्रा र २ गोरु सम्पत्तीका रुपमा रहेका छन्। उनले एक लाख वित्तिय ऋण रहेको पनि विवरणमा पेश गरेका छन्।

भौतीक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको तराईमा कुनै अचल सम्पत्ती छैन। उनले बुवा भवानसिह बोहराको नाममा डडेल्धुराको परसुराम नगरपालिकामा २ घर, साढे १० रोपनी जगगा, आफ्नो नाममा एक घर र साढे १९ रोपी जग्गा, बाजे गोपी बोहराको नाममा डेढ रोपनी जग्गा र पत्नी मैनादेबी बोहराको नाममा आधा रापनी जग्गा रहेको विवरण पेश गरेका छन्।

दुईलाख ६४ हजार बैंक मौज्दात, चार तोला सुन, आधा किलो चाँदी, एक कित्ता सेयर,मोबाईल २, गाई एक, भैंसी १ बाख्रा ३ र गोरु दुई सम्पत्तीको रुपमा रहेको उल्लेख गरेका छन। उनले एक लाख ब्यक्तिगत ऋण रहेको उल्लेख गरेका छन्।

उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बैतडीको दसरथ चन्द नगरपालिका ५ मा एक रोपनी जगगा, ५लाख बैंक मौज्दात, मोटरसाईकल एक थान, १५ तोला सुन, १७५ कित्ता सेयर मौरीका घार ३५, अफसेट मेसिन १ र २५ लाख वित्तय ऋण रहेको उल्लेख गरेकी छिन।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीको नाममा पनि अचल सम्पत्ती छैन। उनले कैलालीको भजनी नगरपालिका ४ मा श्रीमान परसुराम चौधरीको नाममा रहेको एक विगाहा ४ कट्ठा जग्गा र घर, ५० हजार बैंक मौज्दात, एक थान मोटरसाइकल, ७ तोला सुन र ३५ तोला चाँदी, १० कट्ठामा केराखेती, २ राँथा, एउटा पावर टिलर, एक ट्याक्टर र एक लाख बैकिङऋण रहेको विवरण पेश गरेकी छिन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.