प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिताविपरीत भएको प्रवक्ता शर्माको भनाई

रिपोर्ट नेपाल | 2019 Nov 04 | 08:29 am 1988

काठमाडौं, कात्तिक १८: आइतबार साँझ सातै प्रदेशका प्रमुखलाई पदमुक्त गराएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसको आलोचना गरेका छन् । पूर्वाग्रह राखेर सरकारले प्रदेश प्रमुख हटाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसले सहमतिको राजनीतिलाई थप बिथोलेको जनाएको छ।

सरकारले सातवटै प्रदेशका प्रमुख हटाउने निर्णय गरेलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिँदै प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिताविपरीत भएको पनि बताए ।

प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति शर्माले कटाक्ष गर्दै भने– समयको प्राथमिकता अर्कै, सरकारको अर्कैतिर। जरुरी समीक्षाबेगरै पूर्वाग्रहपूर्ण निर्णय भन्दै उनले सरकारले निर्वाचन आचारसंहिताको नैतिक हेक्का समेत नराखेको बताएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेश प्रमुख हटाएका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीयता सफल बनाउन कहाँनेर प्रदेश प्रमुखहरूले अप्ठ्यारो सिर्जना गरेका थिए र सरकारले हटाउने निर्णय गरेको हो भनी प्रश्न पनि गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.