हेटौंडा, मकवानपुर । १८ जेठ : तीन नम्बर प्रदेश सरकारले आगामी आर्थिक आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारको तर्फबाट आज शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाले ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने उद्देश्य पुरा गर्न समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय सरकारले लिएको नीति कार्यक्रमका धेरै विषयलाई पछ्याइएको प्रदेश सरकारको नीति कार्यक्रमा पाँच वर्षभित्र गरिने योजना तथा कार्यक्रमरुबारे प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रदेश प्रमुख कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोस्ट बहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग परियोजना र पुष्पपाल प्रदेश चक्रपथलाई प्रदेश गौरवको योजनाको रूपमा अघि बढाइने उल्लेख छ । प्रदेश प्रमुखको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले वि.सं. २०७८ सालसम्म बाल विवाह मुक्त प्रदेश बनाउने नीति लिएको बताए ।
दश,बीस र पचास वर्षे गुरुयोजना तयार पार्न मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विकास परिषद् गठन गरिने नीति तथा कार्यक्रमा उल्ललेख छ । प्रदेश सरकारले प्रदेश प्रहरी गठन गरी सक्षम,व्यवस्थित र सुदृढ बनाउने लक्ष्य लिएको छ । साथै खुल्ला रूपमा हुँदै आएको मदिरा बिक्री नियन्त्रणमा लिन मदिरा बिक्रीको लागि निश्चित समय,विधि,प्रक्रिया र स्थान तोक्ने व्यवस्था मिलाइने उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कोइरालाले कृषि क्षेत्रको प्रवद्र्दनको लागि प्रधानमन्त्री कृषि परियोजनालाई प्राथमिकताका साथ स्थानीय तहसँग सहकार्य गरी कार्यान्वयन गरिने बताए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा १५ देखि ५० शैयाको अस्पताल निर्माण गरिने उल्लेख छ । प्रादेशिक निर्वाचन क्षेत्रमा आयुर्वेद, प्राकृतिक चिकित्सा लगायत अन्य पुरक चिकित्सा र प्रचलित परम्परागत उपचार सेवालाई विस्तार गरिनेछ उल्लेख छ । साथै दाइजोरहित प्रदेश बनाउन सबै जनप्रतिनिधि एवं राष्ट्रसेवकले दाइजो नलिने नदिने नीति अवलम्बन गरिने भएको छ ।
नीति तथा कार्यक्रममा प्रदेशको प्रति व्यक्ति विद्युत् खपत क्षमतालाई आगामी पाँच वर्षभित्र विकसित राष्ट्रको औसतमा पु¥याइने उल्लेख छ । प्रदेश सरकारले आगामी पाँच वर्ष भित्रमा संघीय सरकार र स्थानीय सरकारसँगको समन्वयमा काठमाडौंको प्रदूषणलाई न्यूनतम बिन्दुमा पु¥याउने लक्ष्य लिएको छ
आगामी तीन वर्षभित्र यस प्रदेशलाई प्लास्टिक झोलामुक्त प्रदेश बनाइने भएको छ । साथै वि.सं.२०८५ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनातिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यता प्रतिपक्षहरूले भने प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सतही भएको टिप्पणी गरेका छन् । लोकप्रियताको लागि मात्र ल्याइएको नीति तथा कार्यक्रम काँडामा अल्झेको सारी जस्तो भएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले बताए ।