प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्‍याइने

| 2019 Apr 03 | 02:18 pm 1667

काठमाडाैं, चैत्र २० :  राष्ट्रिय विकास परिषदको बैठक बुधबार (आज)बाट काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५औं योजनाको आधारपत्रलाई अन्तिम रूप दिनका लागि मस्यौदा आधारपत्रमाथि छलफल गर्न परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोल्टी होटेलमा सुरु भएको हो ।

भोलिसम्म चल्ने बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदार प्रदेशका मुख्यमन्त्रीहरु, संघीय संसदका समितिका सभापतिहरु सहभागी हुनेछन् ।

त्यस्तै बैठकमा गभर्नर, योजना आयोगका सदस्यहरु, प्रदेश सरकारका योजना हेर्ने निकायहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी हुँदै सहभागिता रहने आयोगका प्रवक्ता रुपाखेतीले बताए।

राष्ट्रिय योजना आयोगले समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएको मुलुकको परिकल्पना गर्दै आगामी २५ वर्षे विकास रणनीति बनाएको छ । सोही योजनालाई सफल बनाउन आयोगले यसअघि सातवटै प्रदेशस्तरमा छलफल चलाएको थियो ।

आयोगले वि.सं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार ५ सय डलर पुर्याउने मार्गचित्रसहित सुख र समृद्धिको सिर्जना गर्न पन्ध्रौं पञ्चवर्षीय योजना तयार पारेको छ । आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ।

२५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्षभित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता रुपाखेतीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.