प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर, अनि हुन्छ एक्सरे

| 2019 Apr 29 | 06:52 am 2217

डोल्पा, वैशाख १६: उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ। जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन्।

बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ। बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन्।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुपर्‍यो।

अधिकांश बिरामीले भाडामा जेनेरेटर लिएर एक्सरे गराउने गरेको लामो समय हुँदा पनि अस्पताल व्यवस्थापन समितिले यसतर्फ ध्यान नदिएको काइकेका भीम बुढाले बताए।

पाँच सयदेखि एक हजारसम्म भाडा तिरेर एक्सरेका लागि जेनेरेटर ल्याउने गरेका छन् गाउँले। बिरामीका आफन्तले जेनेरेटर ल्याउने गरेको एक्सरेका कर्मचारी लालकृष्ण बुढा बताउँछन्। सोलार बत्तीको पावरले नपुग्दा बिरामी आफैंले विद्युत्को व्यवस्थापन गर्नुपरेको बुढाको भनाइ छ।

सामान्य एक्सरे गर्न एक बिरामीले एक्सरे चार्जबाहेक दुई हजारदेखि चार हजारसम्म खर्च गर्नुपर्ने ठूलीभेरी–५ का आनन्द रोकायाले बताए। चिकित्सक भए पनि आवश्यक प्राविधिक उपकरण नहुँदा सेवा प्रवाहमा प्रभावकारिता नदेखिएको अस्पतालका चिकित्सक डा भीम बुढा बताउँछन्।(आजको अन्नपूर्ण पोष्टबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.