काठमाडाैं, पुस १४ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कार्यकाे विराेधमा नेकपा (प्रचण्ड-माधव समूह)ले मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्दै छ । देशभर तथा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकालिने बताइएकाे छ ।
प्रचण्ड-माधव समूहले संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । बिहान ११ बजेदेखि उपत्यकाका नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने जनाइएकाे छ । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएकाे छ ।
यसैगरी मजदुरहरूकाे जुलुस रत्नपार्कबाट र त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थीहरू जुलुस समेत सुरू हुनेछ । युवाहरूकाे जुलुस भने बागबजारबाट सुरू हुनेछ । साथै उपत्यका आसपासका जिल्लाहरूबाट हुने प्रदर्शन पनि काठमाडौंमा नै केन्द्रित गरिएको छ ।