प्रचण्ड आज भारत जाँदै, भारतीय प्रधानमन्‍त्री मोदीसँग पनि भेट गर्ने

| 2018 Sep 06 | 06:41 am 1647

काठमाडौं, भदौ २१: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ आज (बिहीबार) भारत जाँदै छन्। उनी स्वदेश फर्किएपछि पार्टीको सचिवालय बैठक डाकिएको छ।

दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गरेका प्रचण्ड सुरुमा भारत जान लागेका हुन्। उनी २३ गते नै स्वदेश फर्किने भएका छन्।

यसअघि उनको सचिवालयले प्रचण्ड २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएको थियो। तर प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि उनले भ्रमणलाई छोट्याएका हुन्।

भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए)को निमन्त्रणामा जान लागेका उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको छ। प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भेट्ने कार्यक्रम भनिए पनि औपचारिक पुष्टि भएको छैन।

स्रोतका अनुसार प्रचण्डसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार भेट गर्ने कार्यक्रम छ। प्रचण्डले शुक्रबार भारतीय विश्व सम्बन्ध परिषद्(आइसि डब्ल्युए)द्वारा आयोजित नेपाल भारत सम्बन्धका भावि परिप्रेक्ष्यबारे प्रवचन दिने कार्यक्रम छ। अपराह्न आयोजना हुने कार्यक्रममा २५० जना कूटनीतिक एवं सुरक्षा मामिला विज्ञ र नेपाल भारत सम्बन्धका जानकारलाई बोलाइएको छ। आइसिडब्ल्युएका नेपाल अनुसन्धाता डा. राकेशकुमार मीनाका अनुसार उक्त कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री जनरल भिके सिंहले स्वागत मन्तव्य राख्नेछन्।

कार्यवाहक राजदूत भरत रेग्मी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले प्रचण्डलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। बिहीबार साँझ प्रचण्डको सम्मानमा भारतका लागि नेपाली दूतावासले १२ खम्बा रोडस्थित दूतावास हातामा स्वागत कार्यक्रम राखेको छ। प्रचण्ड ताजमानसिंह रोडस्थित होटेल ताजमहलमा रहनेछन्। प्रचण्डसँग भारतीय नेताहरू सीताराम यचुरी, डिपी त्रिपाठी, सुधिन्द्र भदोरिया, भगतसिंह कोस्यारीलगायतले भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई अध्यक्षबीच भ्रमण छोट्याउने र पार्टीको सचिवालयको बैठक वैशाख २४ र २५ गतेका लागि बोलाउने सहमति भएको छ। सोही अनुरुप सचिवालयको बैठकपछि पार्टीको स्थायी समितिको बैठक २६ र २७ गते बोलाइएको छ।

पछिल्लो पटक भदौ ७ गते बोलाइएको स्थायी कमिटीको बैठक विम्स्टेक बैठकका कारण तयारी नपुगेको भन्दै सारिएको थियो। त्यसपछि वैशाख १७ गते बोलाइएको थियो। पार्टीका वरिष्ठ नेता माधव नेपाल र सचिवालयका अर्का सदस्य इश्वर पोखरेल विदेश भ्रमणमा गएका कारण बैठक पुनः सारिएको थियो।

गत जेठ ३ गते पार्टी एकता गर्दा पार्टीको तल्लो तहको एकता तीन महिनाभित्र गर्ने बताइए पनि चार महिना बित्न लाग्दा पनि एकता हुन सकेको छैन। एकताका लागि गठन भएका कार्यदलले दिएका प्रतिवेदनमा विवाद भएका कारण स्थायी कमिटीको बैठक पनि प्रभावित हुँदै आएको छ।

२४ र २५ गते बोलाइएको बैठकले प्रतिवेदनमाथि छलफल गर्दै नेतृत्व टुंग्याउने अपेक्षा गरिएको छ। प्रचण्डले यसअघि मंगलवार आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै पार्टीको तल्ला कमिटीको एकता भदौ भित्रै टुंगिने बताएका थिए।

यसैबीच प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि असोज १ गते चीन भ्रमण गर्ने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ।

यसैबीच भारत र चीनको भ्रमण विकास र समृद्धिका एजेण्डामा केन्द्रीत हुने बताउँदै आएका छन्। प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको उनले बताउँदै आएका छन्।

‘दुबै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ,’ उनले मंगलाबार पत्रकारहरुसँगको कुराकानीमा भनेका थिए, ‘अध्यक्षका नाताले दुबै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो, मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु।’

पार्टी एकतापछि उनले पहिलो पटक चीन र भारतको भ्रमण गर्न लागेका हुन्। एमाले र माओवादीबीचको एकतापछि मौनजस्तो देखिएका प्रचण्ड एकाएक सक्रिय बन्नुलाई अर्थपूर्ण मानिएको छ। केपी ओली नेतृत्वको सरकार अलोकप्रिय बन्दै जानु र प्रचण्डले सार्वजनिक रूपमा सरकार पुर्नगठन हुन्छ भन्नुले पनि उनको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.