प्रचण्डलाई दोस्रोपटक विश्वासको मत

रिपोर्ट नेपाल | 2023 Mar 21 | 07:54 am 2017

काठमाडौं, चैत ७ः गत पुस २६ मा संसद्बाट करिब ९८ प्रतिशत सांसदको विश्वास जितेर दुई वर्षका लागि ढुक्क बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई महिनामै सदनबाट पुनः विश्वासको मत लिएका  छन् । सोमबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट नेपालको संविधानको धारा १०० को (२) बमोजिम विश्वासको मत प्राप्त गरे । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।

प्रचण्डका पक्षमा १ सय ७२ जना सांसदको मत प्राप्त भयो । यस्तै, ८९ सांसदले विपक्षमा मतदान गरे भने एक सांसद तटस्थ रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा भएको मतदानमा कुल २ सय ६२ सांसद उपस्थित थिए । अहिले संसदमा कायम रहेका २७२ सांसदमध्ये १० अनुपस्थित रहेको बताइएको छ । उनलाई नेकपा एमाले र राप्रपाबाहेकका सबै संसद्वादी दलहरूले विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री दाहालले अघिल्लोपटक संसद्को २ सय ६८ मत प्राप्त गरेका थिए । दाहालले राष्ट्रपतिको निर्वाचनमा दुई महिनाअघि बनाएको एमालेसँगको गठबन्धन भत्काए ९ हप्तामै पुनः दोस्रोपटक विश्वासको मत माग्न सदनमा प्रस्तुत भएपछि उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले मतदान गरे ।

रास्वपाले आगामी दिनमा सरकारमा जाने मनसायका साथ विश्वासको मत दिएको बताइएको छ । पुस १० मा वर्तमान प्रचण्ड नेतृत्वकै सरकारमा गएको डेढ महिना नपुग्दै उक्त दल गृह मन्त्रालय नपाएको झोंकमा सरकारबाट बाहिरिएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.