प्याब्सन र एन प्याब्सनले आजदेखि पठनपाठनको सबै कार्यक्रम स्थगित

रिपोर्ट नेपाल | 2020 Jul 16 | 07:13 am 2003

काठमाडौं, साउन १ः प्याब्सन र एन प्याब्सनले आज बिहीबारदेखि पठनपाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । दुई संगठनले आफ्नो मागप्रति सरकार उदासिन रहेको आरोप लगाउँदै हाललाई सम्पूर्ण पठनपाठन स्थगित गरेको घोषणा गरेका छन् ।

दुवै संस्थाले कुनै पनि आन्दोलन घोषणा नगरेको दाबी गर्दै विद्यालय सञ्चालन गर्न चरम आर्थिक संकट परेको कारण पठनपाठन स्थगित गरेको स्पष्ट पारेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग वार्ता गरे पनि निकासा निकाल्ने विषयमा कुनै चासो नदेखाएपछि विद्यालय बन्द घोषणा गरेको उनीहरुले जनाएका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले शिक्षक र कर्मचारीलाई तलब खुवाउन असमर्थ भएपछि बाध्य भएर विद्यालयको सम्पूर्ण कक्षा बन्द गर्न बाध्य भएको बताए । उनले भने– चरम आर्थिक संकटमा परेको निजी विद्यालयको विषयमा कुनै चासो नदिएपछि बाध्य भएर सबै कक्षा बन्द गरेका हौं । हामी सरकारको विरुद्धमा लागेका होइनौं, चरम आर्थिक संकटमा परेपछि बन्द गर्न बाध्य भएका हौं –उनको भनाइ थियो ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खर्चिलो अनलाइन तथा भर्चुअल माध्यमबाट पढाउन नसकेपछि र शिक्षक कर्मचारीलाई तलब खुवाउन समेत समस्या परेपछि बन्द गरेको बताए । करिब ८ हजारको संख्यामा रहेको निजी विद्यालयमा करिब ३० लाख विद्यार्थी अध्ययरत छन् । अब ती विद्यार्थी पठनपाठनबाट वञ्चित हुन पुगेका छन् ।

दुई संस्थाले सेन्ट जेभियर्स, बूढानीलकण्ठलगायत गुठी र ट्रस्टबाट सञ्चालित विद्यालयको पनि पठनपाठनसमेत ठप्प पार्न पत्राचार गर्ने भएका छन् । प्याब्सन सहअध्यक्ष डीके ढुंगानाले निजी विद्यालय धान्नै नसक्ने भएपछि बन्द घोषणा गरेको बताए । बन्द भए पनि सरकारसँग निरन्तर वार्ता जारी रहने दुई संस्थाले जनाएको छ ।

प्याब्सन र एन प्याब्सनसँग आबद्ध विद्यालयमध्ये केहीले आर्थिक अवस्था धान्न नसक्ने भन्दै शिक्षक कर्मचारी समेत हटाउन थालेका थिए । दुई संस्थाको पदाधिकारीको बैठकलगत्तै अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय गरेका हो ।

शिक्षामन्त्री पोरखेलले उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीमा दिएको प्रस्तावको विषयमा छलफल नभएको जानकारी पाएपछि दुई संस्थाले अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय गरेको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.