पोषण सुधारका लागि धादिङमा स्वस्थ बच्चा प्रतिस्पर्धा

रिपोर्ट नेपाल | 2020 Feb 03 | 09:43 am 1856

धादिङ, माघ २०: खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपुर्याउँदा धेरै बालबालिका कुपोषणको सिकार भएका छन् । मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिई कार्यक्रम सञ्चालन गरिएको हो।

हालसम्म बेनिघाट रोराङ गाउँपालिकातर्फ वडा नं ८ को माङमुङ, बुङपुङ, मिजारगाउँ, यारवाङ, साचक, राक्सिराङ, दुङवाङ र गजुरी गाउँपालिकातर्फ वडा नं ४ को चिउरीखर्क, नेवारबास, गैह्रीगाउँ, धर्मेचौर र वडा नं ६ को राम्चेमा गरी १२ स्थानमा कार्यक्रम सञ्चालन गरिएको छ।

१२ स्थानमा पाँच वर्षमुनिका २ सय ८२ जना बालबालिकालाई प्रतिस्पर्धामा सहभागी बनाइएको छ। सहभागीमध्ये ६ जना बालबालिका पोषणका हिसाबले अति जोखिममा र १७ जना मध्यम जोखिममा रहेको पाइएको छ। जोखिममा रहेका बालबालिकाको पुनस्थापनाका लागि सम्बन्धित अभिभावकलाई आवश्यक परामर्श दिइएको छ।

पोषणलाई प्रत्यक्ष असर गर्ने मुख्य तीन क्षेत्रगत अवस्था बालबालिकाको पोषण र सरसफाइको अवस्था, बालस्याहारप्रति अभिभावकको बुझाइ, संवेदनशीलता र व्यवहार मापनका सूचकका आधारमा मूल्यांकन गर्ने गरेको शान्ति नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेलले बताए।

सबै भन्दा स्वस्थ बच्चा प्रतिस्पर्धा भने पनि खासमा यसको मर्म बालस्याहारमा अभिभावकबीच नै प्रतिस्पर्धा हो, उनले भने, सानो उपहारको आशमा भए पनि जोखिममा रहेका कयौं बालबालिकाका अभिभावकलाई परामर्श दिने अवसर प्राप्त हुने भएकाले यस वर्ष अझै थप लक्ष्यका साथ ५५ स्थानमा कार्यक्रम गर्दैछौं।

गत वर्ष पनि बेनिघाट रोराङ र गजुरी गाउँपालिकाका ४० स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो। नगरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.