काठमाडौं, माघ ९: गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन्। जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी गरेलगात्तै मनाङेलाई प्रहरी हिरासतमा लिएको हो।
बिहीबार दिउँसो पोखराको लेकसाइडस्थित रहेको होटेल प्याराडाइजबाट उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी दिए ।
गत मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत कास्कीले मनाङेविरुद्ध बिहीबार नै पक्राउ पुर्जी जारी गरेको थियो।
मनाङेलाई बिहीबार दिउँसो चार बजे पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ। मनाङेविरुद्ध बुधबार मिलन गुरुङले गण्डकी प्रदेशसभाका सांसद जिल्ला प्रहरी कार्यालयमा कास्कीमा जीउ धनको सुरक्षाको माग गर्दै उजुरी दिएका थिए।
मंगलबारबाट सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई व्यवस्थापन नमिलाएको, टाइसिट बनाउँदा एकलौटी गरेको ठगेको भन्दै मनाङेले झापड हानेका थिए।