काठमाडाैं, माघ १८ः पेट्रोलियम व्यवसायीको दबाबपछि नेपाल आयल निगमले इन्धन बिक्रेतालाई दिने कमिसन बढाएको छ। निगमले डिजेल र पेट्रोलको कमिसन प्रतिलिटर करिब ३६ पैसा बढाएको हो। पेट्रोल पम्प व्यवसायीले साबिकको कमिसनले व्यवसाय धान्न कठिन भएको भन्दै निगमलाई कमिसन बढाउन दबाब दिएका थिए।
साबिकको कमिसन दरमा पेट्रोलमा ०.३९५ प्रतिशत वृद्धि गरी ३.३९५ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत वृद्धि गरी ३.१२ प्रतिशत पुर्याएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। यसअघि पेट्रोलमा तीन प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन थियो। निगमले कसिमन वृद्धि नगरे लिटरमा ५० पैसा मूल्य थपेर पेट्रोल र डिजेल बिक्री गर्ने व्यवसायीले घोषणा गरेका थिए।
लामो समयदेखि कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ थियो। निगम र नेपाल पेट्रोयिमम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीबीच भएको छलफलपछि वैज्ञानिक मापदण्डका आधामार कमिसन वृद्धि गरेको निगमले जनाएको छ। आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएपछि पेट्रोल पम्प सञ्चालकलाई दिने कमिसनसमेत जोडेर मूल्य निर्धारण गर्छ। अहिले वृद्धि गरिएको कसिमनले पेट्रोल र डिजेलको बिक्री मूल्य अैसतमा ०.३६ प्रतिशतले वृद्धि हुने बताइएको छ।
व्यवसायीले डिजेलमा चार र पेट्रोलमा ४.५ प्रतिशत कमिसन माग गरेका थिए। निगमले अहिले वृद्धि गरेको कमिसन अझै अपुग भएको पम्प व्यवसायीको संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। ‘निगमले बढाएको कमिसन अझै अपुग छ,’ प्रधानले भने, ‘अहिलेको निर्णयलाई स्वीकार गर्छौं।’ मुलुकभर करिब १५ सय पम्प छन्। तिनले दैनिक करिब ४८ लाख लिटर डिजेल र १५ लाख लिटर पेट्रोल बिक्री गर्छन्। निगमले व्यवसायीलाई दिँदै आएको केही सुविधा भने कटौती गरेको छ। नागरिक दैनिकबाट