पेट्रोलियम ट्रयांकर चालक संघ र सरकारबीच सहमति

| 2024 Jun 17 | 03:55 pm 713

काठमाडौँ ०३ असार / सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच आज सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको छ । छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो ।

सरकार र ट्याङ्कर चालकबिच सहमति भएसँगै तेल आपूर्ति सुरु पनि भएको छ । आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ ।

सम्पूर्ण ट्याङ्कर चालक र सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने लगायत सङ्घको माग थियो । मन्त्रालय र संघबिच उनीहरूका माग सम्बोधन गर्ने गरी सहमति भएपछि चालकहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.