पृथ्वी राजमार्ग विस्तारकाे क्रममा ४ सय ६६ रुख काटिने

| 2022 Nov 11 | 08:27 am 1209

तनहुँ, कात्तिक २५ः पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्। यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ  रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ।

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।  ‘सबै रुख नकाटिन पनि सक्छन्’, उनले भने, ‘काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ।’

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन्। उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनले बताए। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे आठ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए।

व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन्। आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ। उजले भने, ‘आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो।’ जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउँछन्। क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.