पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ सम्पन्न

रिपोर्ट नेपाल | 2023 Jan 11 | 07:31 pm 1081

काठमाडाैं, पुस २७ः राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृतिमा विगतका बर्षहरुमा झै यस वर्ष पनि नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ विविध कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाएको छ । यसै सिलसिलामा पौष २१ गतेबाट पौष २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा संचालन भएको थियो ।

बडामहाराजाधिराजबाट नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँचवटा पल्टनको प्रतिनिधित्व हुने गरी संचालन भएको पदयात्रा गोरखाबाट धादिङ्ग, नुवाकोट, काठमाण्डौं हनुमानढोका हुदै जंगी अड्डा पुगेर समापन भएको हो । उक्त पदयात्रा टोली काठमाण्डौं पुगेपछि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो ।

सोही अवसरमा जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डास्थित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए।

यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरु वाचन गर्नुका साथै प्रा. डा. श्री जगमान गुरुङ्ग र प्रा. डा. श्री घनश्याम भट्टराईबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिब्योपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्राहरुलाई पुरस्कृत गरे ।

पौष २७ गते नै प्रधान सेनापति महारथी शर्माले गोरखास्थित गोरखा दरबार, ठूलो आँगनमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनी सहित राष्ट्र निर्माता सलामी अर्पण गर्ने कार्यको शुभारम्भ र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.