ललितपुर, माघ २७: सोमबारसानेपामा भएको पूर्व सचिव अर्जुन कार्कीको पत्नी मुनाको हत्याको पर्दा खुलेको छ ।
घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जानकारी दिएको छ ।
सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेट जाँदाको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडि फर्किएका बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको दृष्य सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपाल समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शवमा कुनै चोट पटक छैन ।
पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् ।
घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घर बाहिर रहेकी थिइन् । पशुपतिबाट फर्केका पति अर्जुनले पत्नी मुना रगतमा लतपतिएको अवस्थामा फेला पारेपछि चिच्याउँदै कराएका थिए । त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराइएको बुझिएको छ ।