काठमाडौं १३ साउन । सर्वोच्च अदालतले गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ। भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरेको हो । सर्वोच्चले ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए । अहिले सर्वोच्चबाट पनि उनी दोषी ठहर भएका छन् ।