पूर्वमन्त्रीलाई राजपा भित्र्याएर महतोले दिए यस्तो चेतावनी

| 2018 Jun 18 | 09:21 am 2723

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले मधेशी थारु माथिको विभेद राज्यले निरन्तर नै राखेको आरोप लगाएका छन् । नयाँ कार्यकर्तालाई पार्टीप्रवेश गराउन जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘हजारौं जनताको हत्या गराएकाहरु अहिले देशको प्रधानमन्त्री भए, तर जुन घटनामा रेशमलाल चौधरीको कुनै संलग्नता छैन त्यसलाई आधार बनाएर थुनामा राखी लोकतन्त्रको खिल्ली उडाइएको छ ।’

महतोले जनताद्वारा निर्वाचित सांसदमाथि यस्तो अन्याय हुनु राज्यको विभेदकारी नीति प्रष्टै देखिएको भन्दै एउटा सीमासम्म मात्रै आफूहरुले अन्याय, अत्याचार सहने चेतावनी दिए । ‘जुन दिन मधेशी थारुको धैर्यताको बाँध टुट्छ त्यो दिन यो देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ’ भन्दै महतोलेसमयमै सत्ता सञ्चालकहरुले आफूहरुको माग पूरा नगरे ठूलो दुर्घटना हुनसक्ने दाबी गरे ।

सो अवसरमा पूर्वराज्यमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका नेता अरविन्द साहको नेतृत्वमा सयौं नेता–कार्यकर्ता राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका थिए । नयाँ शक्तिका प्रदेश २ का इन्चार्जसमेत रहेका साहको नेतृत्वमा राम उदितराम, किरन झा, सबनम खातुन लगायत सयौं नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेका छन् । जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले नवप्रवेशीहरुलाई माला र अबीर लगाई सदस्यता प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.