काठमाडौँ, आश्विन ०८ / गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक-सेयरहोल्डर तथा सञ्चालकसमेत रहेका पूर्वडीआईजी जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका हुन् । सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जोशीलाई शंखमूलबाट पक्राउ गरेको थियो । काठमाडौं–१ नक्साल घर भएका ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचनाका आधारमा तत्काल उनीविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिइएको कास्की प्रहरीले बताएको छ ।
पोखरा–४ नालाकोमुखस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधानविपरीत हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोर के टिभी)मा लगानी गरी सहकारी ऐनको परिभाषित ठगीसम्बन्धी कसुरमा जोशी संलग्न रहेको कसुर छ ।