पिङ हाल्ने ठाउँमा तितेपाती !

रिपोर्ट नेपाल | 2018 Oct 19 | 07:41 am 2031

बलेवा, कार्तिक २: दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन छाडेका छन् ।

पिङ बनाउने युवाको अभावमा दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका हुन् । पहिले पहिले चमच्चाका लागि प्रयोग गरिने खिर्राेका रुख काटिएका छन् । पिङ बनाउने ठाउँमा कतै सार्वजनिक भवन, विद्यालय बने भने कतै कतै तितेपाती उम्रिएको छ ।

घर घरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैन भने दशैँका बेला राखिने पिङ चमच्चा खेल्नेको भीड देखापर्न छाडेका छन्। गाउँघरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् उनीहरुले काठको प्रयोग गरेर चमच्चा बनाउन सक्दैनन् । काठ बोक्न सक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशकै ठूला शहर छिरेका छन् । दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् ।

“दशैँ शुरु हुनु अगाडिदेखि नै हाम्रो घर नजिकमा बनेको काठे चमच्चा र लिङ्गे पिङ खेल्न पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो”, बागलुङको काठेखोला गाउँपालिका–२ का गोपाल विकले भने, “अहिलेत पिङ र चमच्चा बनाउने मैदान नै सुनसान रहेछ ।” दश वर्ष लामो वैदेशिक रोजगारीबाट फर्केका विकले दशैँको रौनक हराएको बताए।

पिङ हाल्न गाउँमा बाबियोसमेत पाइन छोडेको छ । दशैँका लागि पिङ हाल्नलाई बस्तुबाट जोगाएर बाबियो राख्ने गरिथ्यो स्थानीयवासी दिलबहादुर थापाले भने, “चमच्चाका लागि दुई महीनादेखि तयारी गर्नुपर्थ्यो, अहिले हरायो । बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने सीप नयाँ पुस्तामा छैन ।

गाउँमा बसोबास गर्ने अधिकांश मानिस शहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बागलुङ जैमिनी नगरपालिका–१ का कृष्ण शर्माले बताए। शहर बजारमा पाइने यतारी पिङ बाह्रै महीना खेल्न पाइने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको शर्माको अनुमान छ। “पहिले पहिले पिङ र चमच्चा खेल्न तँछाडमछाड हुन्थ्यो”, शर्माले भने, “अहिले न त पिङ र चमच्चा देख्न पाइन्छ न त भीडभाड नै हुन्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.