पिकअप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2018 Sep 10 | 11:28 am 1460

सल्यान, भदौ २५: सवारी दुर्घटना अत्यधिक मात्रामा भइरहँदा आज सोमबार बिहान सल्यानको शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु १ च ५६६४ नं पिकअप भ्यान शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा मृत्यु हुने बागचौर नगरपालिका–१० पिपलनेटा निवासी ५५ वर्षीया हुकुमी विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएका छन् । घाइते हुनेमा मृतकका श्रीमान ६५ वर्षीय बलबहादुर विक र चालक सोही ठाउँका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घाइते दुवैको श्रीनगरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको शाहीले बताए । बलबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् । दुर्घटना भएको पिकअप सडकबाट झण्डै २०० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.