पार्टी विभाजनको कुनै औचित्य छैन: गौतम

| 2021 Jan 08 | 07:55 am 2249

काठमाडौं, पुस २४ः प्रतिनिसिधसभा विघटन भएकोमा राष्ट्रिय सभाका सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सांसदहरुले चर्को विरोध गरेका हुन् । राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम भएको भन्दै आक्रोश पोखेका छन् ।

नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पार्टी विभाजनको कुनै औचित्य नरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुअघि आफूलाई जानकारी नदिएको बताए ।

अविश्वासको प्रस्ताव आउँछ भन्ने थाहा पाएको अवस्थामा यदी आफू प्रधानमन्त्री भएको भए राजीनामा गर्ने बताउँदै भने– ‘अविश्वासको प्रस्ताव लगेको थाहा पाएको भए, म भए राजीनामा दिन्थें ।’ नेपालको कम्युनिस्ट पार्टीले संवैधानिक सर्वोच्चतालाई पालना गर्ने नीति रहेको बताउँदै गौतमले संविधानको विषय आफू अनुकूल भएन भन्दैमा त्यसलाई बदनाम हुने किसिमले काम गर्न नहुने बताए ।

उनले आफू विभाजित पार्टीको कुनै पक्षमा नरहेको उल्लेख गर्दै आजको दिन राष्ट्रिय सभामा बोल्दा खुसी हुनुपर्नेमा आफू दुःखी रहेको बताए । उनले तीन वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न गरे । उनले एकतापछि बनेको नेकपाको विपक्षमा ऋषि कट्टेलले हालेको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको बताउँदै यदि सर्वोच्चले यो पार्टीलाई खारेज गरिदियो भने के होला भनेर जिज्ञाशा राख्नुभयो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.