पार्टी एकता आजै टुंगिन्छ, भोलि घोषणा गर्छौं : अध्यक्ष प्रचण्ड

| 2019 Apr 21 | 01:31 pm 1460

काठमाडौं, वैशाख ८ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको काम आजै टुंग्याएर भोलि सोमबार एकताको घोषणा गर्ने बताएका छन्। ७० औँ पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी प्रदेश-३ ले आयोजना गरेको स्थापना दिवस तथा सम्मान कार्यक्रममा काठमाडौंमा प्रचण्डले आज बेलुका बस्ने सचिवालय बैठकले एकता टुंग्‍याउने जानकारी दिए।

पार्टी एकताको बाँकी कामबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको र यसै बैठकले एकताको टुंगो लगाउने पनि उनले बताए। उनले भने, ‘ सचिवालय बैठकमा सरकार र पार्टीका कामको समीक्षा पनि हुनेछ। हामी भोलि नै एकताको विषयलाई टुंग्‍याउने क्रममा छौं।’ पार्टी एकताका जिल्ला, जनसंगठन, र अन्य काम भोलि नै घोषणा गर्ने पनि उनले बताए।

मान्छेको अनुहार हेरेर हैन क्षमता हेरेर जिम्मेवारी दिइने प्रचण्डको भनाइ छ। आइतबार साँझ ५ बजे दुई अध्यक्षको बैठक बसेर प्रस्ताव टुंगो लगाउने र ६ बजे बस्ने सचिवालय बैठकले बाँकी काम टुंगो लगाउने प्रचण्डले बताए। उनले भने,’ढिलो भए पनि अब पार्टी एकता टुंगियो, यसमा शंका नगर्न आग्रह गर्दछौं। विधान पनि कार्यदलले दिएको सुझाब राखेर छाप्ने टुंगोमा पुगेको छ। दुवै अध्यक्षले टुंगो लगाउने भएका छौं।’ यसअघि आइतबार बिहान पनि दुई अध्यक्षबीच भेटवार्ता भएको बताइएको छ।

पार्टी एकता सम्बन्धित कमिटी–कमिटी बीचको एकता भएकाले निश्चित विधि बनाई गर्नुपर्ने अडानमा वरिष्ठ नेता माधव नेपाल रहेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल नेपाल पक्षलाई सहमतिमै लिएर एकता टुंगो लगाउने तयारीमा जुटेका थिए। पार्टीभित्र नेताहरुबीच  विवादको सन्देश जान नदिने गरी शीर्ष नेताहरु बीच संवाद जारी रहेको छ।

नेकपाभित्र ७७ जिल्लामध्ये एकता क्रममा ४५ पूर्वएमाले र ३२ जिल्लाको अध्यक्ष पूर्वमाओवादीले लिने गरि भागबन्डामा सहमति भइसकेको छ। विधानअनुसार नेकपाका जिल्ला कमिटीमा अध्यक्ष र सचिव दुई जना मात्र पदाधिकारी हुनेछन्। अध्यक्ष पूर्वएमालेले पाएको जिल्लामा सचिव पूर्वमाओवादी र पूर्वमाओवादीले अध्यक्ष पाएको जिल्लाको सचिव पूर्वएमालेले लिने सहमति ओली र दाहालबीच भइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.