पार्टी एकताका लागि नेता नेपालद्वारा ओलीसँग छ बुँदे अन्तिम पत्र पेस

रिपोर्ट नेपाल | 2021 May 10 | 09:11 am 2781

काठमाडौं, बैशाख २७: एमाले नेता माधव नेपालले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीसँग छ बुँदे अन्तिम पत्र पठाएका छन्। विभाजन रोक्‍न अन्तिम कसरत चलिरहेका बेला आइतबार राति नेपालले ओलीलाई यस्तो पत्र पठाएका हुन्।

यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ। नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को फैसालाअनुसार एकीकरणअघि अर्थात २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने सर्त राखेका छन्।

पार्टीलाई एकीकरण अघिको संरचना र अवस्थामा क्रियाशील बनाएपछि मात्र विश्‍वासको मत दिन तयार हुने सन्देश उनले दिएका छन्। अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीको वक्तवय लगत्तै नेपालले यस्तो पत्र पठाएका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

यी हुन् नेता नेपालले पत्रमा राखेका ६ वटा सर्तहरू :
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचारसंहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।

२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने।

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने।

४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूका बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने।

५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्ने।

६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.