पार्टीको चियापानमा किन आएनन् ओली

रिपोर्ट नेपाल | 2018 Oct 27 | 04:07 pm 1912

काठमाडौं, कात्तिक १० :  नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएकोले पार्टीले आयोजना गरेको चियापानमा उपस्थित हुन नसकेको स्रोतले जानकारी दिए । दुर्इ अध्यक्षसहित पार्टीका वरिष्ठ नेताले अतिथिलार्इ स्वागत गर्ने भनिएपनि प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा उपस्थित हुन सकेनन्।

चियापानको शुभारम्भ पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे । शुभारम्भ कार्यक्रममा शुभकामना मन्तब्य दिँदै चाडपर्वको अवसरमा कुनै राजनीतिक कार्यक्रम नभए पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको बताउँदै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिनुपर्ने बताए।

नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज शनिबार आयोजना गरेको चियापान कार्यक्रम आयोजना गरेको हो। काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि आयोजना गरिएको कार्यक्रम साँझ ५ बजेसम्म चल्‍ने बुझिएको छ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता दिइएपनि करीब ३५ हजार उपस्थिति हुने अनुमान गरिएको छ।

उक्त चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.