पाथीभरा क्षेत्रमा अनुमति बेगर ड्रोन उडाउन नपाइने

रिपोर्ट नेपाल | 2022 Dec 19 | 05:12 pm 1745

ताप्लेजुङ, पुस ४ः अब ताप्लेजुङको पाथीभरा क्षेत्रमा अनुमति बेगर ड्रोन क्यामरा उडाउन नपाइने भएको छ। पाथीभरा क्षेत्र विकास समितिले अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने बताएको छ।

सुरक्षा सम्बेदनशिलतालाई ख्याल गर्दै अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाइने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए। क्षेत्र विकास समितिले यो जानकारी सबैलाई दिन सार्वजनिक सूचना आवह्वन गरेको छ भने पाथीभरा क्षेत्रका बिभिन्न स्थानमा सार्वजनिक सूचना समेत टाँस गरेको जनाएको छ।

२०७२ मा जारी भएको ड्रोन उडान कार्याविधिमा धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर गर्नेगरी उडान गर्न नपाइने उल्लेख छ। अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण,उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान छ।

कार्यविधि अनुसार सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रको एक किलोमिटर क्षेत्रमा पनि उडान गर्न पाइदैंन। ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, नेपाल सरकार सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यवसायिक प्रयोजनको लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानका सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ।

निवेदन दिनेले प्राधिकरण तथा गृहले जारी गरेको सम्पूर्ण मापदण्ड पालना गर्न सहमत हुनुपर्छ। अनुमति अनुसार काम भए नभएको अनुगमन गर्न गृहले कर्मचारी नै खटाउन सक्ने प्रावधान रहेको छ। यसरी सम्पूर्ण प्रक्रिया पूरा भएको अवस्थामा गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखाले उडान अनुमति दिन वा सुरक्षा निकायलाई अनुमति दिन निर्देशन दिने व्यवस्था रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.