बैतडी, असार ५ः जिल्लाको पाटन विमानस्थल तीन महिनादेखि बन्द रहेको छ। समिटि एयरले साताको एक दिन हवाई सेवा दिँदै आएको पाटन–धनगढी उडान सेवा बन्द भएको हो। यात्रु नपाउँदा हवाई सेवा बन्द भएको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले बताए।
समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रमा बढी उडान भइरहेकाले पाटन आउन नसकेको जनाएको छ। यात्रु नहुँदा नियमित उडान गर्न नसकिएको वरिष्ठ अधिकृत भट्टले बताए। लुक्ला र जोमसोमतिर पर्यटकको घुइँचो भएकाले उतैतिर बढी उडान भर्ने गरेको उनको भनाइ छ।
गत चैत १० गतेदेखि बन्द रहेको हवाई सेवा केही दिनमा पुनः सञ्चालनमा आउने समिट एयरका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए।
१८ जना यात्रु क्षमताको समिट एयरको जहाजका साप्ताहिक रूपमा उडान हुँदै आएको थियो। यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो। यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द रहेकामा फागुन पहिलो साता सञ्चालनमा आएको थियो।