काठमाडौं, माघ २५ : सेवाग्राहीबाट पाँच लाख घुस लिएको आरोप लागेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँ न्याय परिषद्मा तानिएका छन् ।
पहिलोपल्ट ‘श्रीमान’ नै यसरी न्याया परिषदमा तानिएका हुन् । माघ १७ गते पाँच लाख नगद घुससहित पक्राउ परेका जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले घुस लेनदेन न्यायाधीशको निर्देशनमा भएको बयान दिएपछि बानियाँ न्याय परिषद्मा तानिएका हुन् ।
अख्तियारको हिरासतमा रहेका चालिसेले सेवाग्राहीसँग घुस रकम लिन न्यायाधीश बानियाँले निर्देशन दिएको बयान दिएका थिए । यसअघि चालिसेले आरोपीबाट घुस रकम लिने समयमा गरिएको कल रेकर्डमा पनि ‘आफ्ना लागि जम्मा १०–२० हजार र बाँकी सबै रकम ‘श्रीमान’ को लागि भएको स्पष्ट बताएका थिए ।’
चालिसेले बयानमा न्यायाधीश बानियाँको नाम पोलेपछि प्रधानन्यायाधीशको निर्देशनमा न्याय परिषद्ले बानियाँलाई माघ २४ गते बिहीबार न्याय परिषद्मा तानेको हो । माघ २३ गते निर्णय गरेको भए पनि बानियाँलाई काज भत्ता नपाउने गरी न्याय परिषद्मा छानबिनका लागि तानिएको जनाइएको छ ।