पाँचथर, असर ३ — अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् ।
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरका विभिन्न ठाउँमा पशुभाउ पनि बगाएको प्रहरीले जानकारी दिएको छ । (कान्तिपुरबाट)