-कौरव खत्री
गुल्मी, कार्तिक १५ : जिल्लाको सत्यवति गाँउपालिकामा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र सक्षम परियोजना गुल्मीको आयोजनामा गाँउपालिकाका जनप्रतिनिधिहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धि एक दिने अभिमुखीकरण तालिम खैरेनीमा सम्पन्न भएको छ ।
अभिमुखीकरण तालिमका अवसरमा मन्तव्य दिँदै प्रमुख अतिथि तथा सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले पछाडी परेको समुदाय, अपाङ्ग र लक्षित वर्ग लगायतलाई मुख्य केन्द्रमा राखेर काम गर्नु आफ्नो कर्तव्य र पहिलो प्राथमिकता रहेको बताउँदै यस अभिमुखीकरण तालिमले सबै जनप्रतिनिधिहरुलाई अपाङ्गताका बारेमा जानकारी लिने अवसर प्राप्त गरेको बताए ।
आफू निर्वाचनको क्रममा गाँउ–गाँउमा जाँदा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक देखेपछि आफ्नो सबै भन्दा पहिलो प्राथमिकता भनेको अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोग गर्नु रहेकोले आफू गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएपछि आफ्नो पहिलो कामको शुरुवात भनेकै अपाङ्गता परिचय पत्र वितरणबाट काम गरेको अध्यक्ष ढकालले जानकारी दिए । अपाङ्गता व्यक्तिहरु भनेका आफैमा आत्मनिर्भर हुन नसक्ने हुदा उनीहरुलाई सधै पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।