गोरखा, साउन ४ः केही दिनदेखि परेको अबिरल वर्षाका कारण गएराति खसेको पहिरोले गोरखा–आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइरहेको प्रमुख ढकालको भनाइ छ ।
आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।
ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ ।