पश्चिम नेपालबाट बाहिरीयो मनसुन

| 2018 Oct 04 | 08:52 am 1872

काठमाडौं, असोज १८: जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन पश्चिमी क्षेत्रबाट मंगलबार नै बिदा भएको जनाएको छ । मौसमविदका अनुसार पश्चिमी क्षेत्रबाट मनसुन बिदा भैसकेकोले अब केही दिनभित्रै पूर्णरुपमा मनसुन बाहिरिने छ ।

महाशाखाका मौसमविद समिर श्रेष्ठले भने, ‘पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसक्यो तर मध्य र पूर्वमा मनसुनको प्रभाव अझै कैही दिन रहन्छ । दसैं आउन एक साता बाँकी भएकाले दसैंसम्ममा पूर्णरुपमा नै मनसुन नेपालबाट बाहिरि सकेको हुन्छ । वर्षा हुने, झरी पर्ने संकेत कुनै संकेत छैन ।’

नेपालमा गएको केही वर्षदेखि नै मनसुन बिदा हुने समय लम्बिँदै गइरहेको छ । मौसमविद् श्रेष्ठका अनुसार मनसुन बिदा यही दिन हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । पश्चिम क्षेत्रबाट मनसुन बाहिरीसकेकाले मध्य र पूर्वमा भने निकै कमजोर बन्दै गएको छ । अर्को प्रणाली केही नदेखिएकाले दसैंमा ठूलो पानी पर्ने सम्भावना देखिँदैन ।

बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने गर्छ । जसले गर्दा जुन महिना देखि सेप्टेम्बर महिनासम्म धेरै वर्षा हुने गर्छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा यही चार महिनाको अवधिमा हुन्छ । सेप्टेम्बर महिनाको अन्त्यसँगै बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै बिदा हुन्छ । पूर्वी नेपाल हुँदै फैलिने मनसुनी प्रणाली पश्चिमबाट सफा हुँदै बाहिरिने गर्छ ।

मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमबाट पूर्वतर्फ मौसमी गतिविधि अघि बढ्छ । मनसुन बिदा भएपछिको समयमा भने स्थानीय प्रणाली तथा समुद्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्छ । बंगालको खाडीमा विकास भएको मौसमी प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने मनसुनसँगै बिदा हुन्छ ।

मनसुन बिदा हुनका लागि बंगालको खाडीबाट सक्रिय भएको मौसमी प्रणाली पूर्ण निस्क्रिय हुनुपर्छ । गएको वर्ष मनसुनी अवधि सकिएको केही समय ढिला गरी मनसुन बाहिरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.