काठमाडौँ, असोज २ । आफूखुसी चर्को पार्किङ शुल्क लिएको भन्दै पशुपति विकास कोषले तत्त्व इन्भेस्टमेन्ट प्रा.लि.सँग पार्कीङ्ग सम्झाैता तोडेको छ ।
विशेष गरी भारतीय धर्मालम्बी र आर्यघाटमा शवदाहका लागि जाने सवारी धनीसँग चर्को शुल्क लिने गरेको समाचार रिपोर्ट नेपाल डटकमले यस अघि प्रकाशन गरेको थियो । पार्कीङ्गका विषयमा चाैतर्फी विरोध र आरोप लागे पछि पशुपति विकास कोषले तत्कालका लागि पार्कीङ्ग निशुल्क बनाउने भएको छ ।
पार्किङ शुल्क उठाउने तत्त्व इन्भेस्टमेन्ट प्रा.लि.ले कोषलाई बुझाउनु पर्ने रकम बुझाउन समेत आलटाल गर्दै आएकोमा सम्झाैता रद्द गरिएको हो ।
पार्किङ व्यवस्थापनमा व्यापक अनियमितता देखिएपछि टेन्डरवाला कम्पनीसँग सम्झौता रद्द गरी तत्कालका लागि पार्किङ निःशुल्क गरिएको जनाइएको छ ।
कोषले गत २१ गते नै तत्त्व इन्भेस्टमेन्टसँगको सम्झौता तोडेको हो । कोष र कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि ५ वर्षको सम्झौता भएको थियो । तर, सम्झौता अनुसारको शुल्क नियमित रूपमा भुक्तान नगरिएपछि ठेक्का रद्द गरिएको कोषका डा.घनश्याम खतिवडाले बताए ।