पवर्तका डिएसपीका कारण गाउँपालिकाले आफ्नै प्रहरी बनाउने

रिपोर्ट नेपाल | 2019 Mar 08 | 01:37 pm 5096

पर्वत, फागुन २४ : जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख नायब उपरीक्षक भुवनेश्वर तिवारीको असक्षमता र अहमताका कारण यहाँको एक गाउँपालिकाले आफ्नै प्रहरी राख्ने सोच बनाएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार पर्वतको जलजला गाउँपालिकाले डिएसपी तिवारीको गैह्र जिम्मेवारीपन र मर्यादा विपरित कार्य गरेको भन्दै गाउँपालिकाको कार्यविधि बनाएर पालिकामा आवश्यक प्रहरी भर्ना गर्ने सोच बनाएको छ ।

स्थानीय सरकारलाई चुनौती दिंदै आफू खुसी काम गर्दै गएपछि गाउँपालिका बाध्य भएर यस्तो जोखिमपूर्ण निर्णय लिनुपरेको कुरा अध्यक्ष यमबहादुर मल्लले बताएका छन् ।

विशेष गरी प्रहरी संगठन प्रति बफादार हुनुपर्नेमा डिएसपी तिवारी बढी राजनीतिक पार्टीका केन्द्रीय नेताको हाँक दिएर जनप्रतिनिधिको तेजोबोध गर्ने र अटेर गर्ने गरेको पनि बताइएको छ ।

पटक पटक सुरक्षाका विषयमा छलफल गर्न बोलाउँदा पनि अटेर गर्ने र सुरक्षा स्थिति खलल पुग्न थालेको जानकारी गराउँदा पनि चिर निन्द्रामा बस्ने डिएसपी तिवारीको हैसियत नभएकै कारण मुख्यालयले मूल्याङ्कन गरेर बढुवा रोकेको हो ।

राजनीतिक आडमा बढुवा हुने निश्चित भएको गुड्डी हाँक्दै हिडेका डिएसपी भुवनेश्वर बढुवाको सूचिमा नाम नदेखेपछि छाँगाबाट खसेझै भएका थिए ।

प्रहरी सहायक निरीक्षक (असई)मा प्रहरी सेवामा प्रवेश गरेका उनी क्षमताको भन्दा भनसुनका आधारमा पर्वतको प्रमुख बनेका थिए । गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्लका अनुसार गाउँमा थुप्रै घटना घटेर खबर गर्दा समेत अपराधि समात्नु त परै जाओस बुझ्न समेत नआएको गुनासो गरेका छन् ।

अनावश्यक घरकपड गर्ने चाहिने काममा वेवास्ता गर्ने गरेको पनि मल्लको भनाई रहेको छ । थुप्रै पटक सुरक्षाको माग गर्दा पनि अनुभूति दिन नसकेकोले आफ्नै प्रहरी राखेर जनताको जिउ ज्यानको सुरक्षा गर्ने तयारी गरेको पनि अध्यक्ष मल्लको भनाई रहेको छ ।

पर्वत प्रहरीले सुरक्षा नदिएको स्थानीय सरकारसँग कुनै समन्वय नगरी आफूखुसी अघि बढेकोलगायतका कुराहरुको गाउँपालिकाबाट निर्णय गरी प्रधानमन्त्री, गृह, प्रदेश सरकार, प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको अध्यक्षको घरमा बम राख्नेदेखि व्यवसायिको डोजरमा आगो लगाउनेसम्मलाई कारबाही गर्न नसकेको डिएसपी तिवारीले त्यहाँका अन्य प्रहरी अधिकृत र तल्लो तहका कर्मचारीको मनोबल खस्काउने गरेको आरोप पनि उनीमाथि लगाइएको छ ।

डिएसपी तिवारीको त्यहाँको क्रियाकलाप हेर्दा लाग्छ उनी जनप्रतिनिधिले गरेको निर्णय उल्ट्याउन सक्ने न्यायाधिश हुन् । गाउँपालिकाले ऐन नियम पुर्याएर लगाएको ठेक्कामा अवरोध गर्ने र अर्को कुनै पक्षसँग घाँटी जोडेर पर्वतको सुरक्षामा खेलवाड गरेकै कारण गाउँपालिका आफ्नै प्रहरी राख्ने सोचमा पुगेको अध्यक्ष मल्लको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.