पर्सा, माघ २१, जिल्ला प्रहरी कार्यालय पर्साका प्रशासन हेर्ने प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ र प्रहरी नायब निरीक्षक निलराज काफ्लेले यतिखेर विभिन्न पाेष्टमा खटाउने प्रहरीबाट रकम असुलेर एक किसिमकाे आतंक मच्चाएका छन् ।
वीरगंज प्रहरी स्रोतले दिएकाे जानकारी अनुसार प्रहरी नायब निरीक्षक निलराज काफ्ले र प्रहरी सहायक निरीक्षक मोहन आलेले प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षकसम्म ६५ वटा युनिटमा हेरफेर गर्दा प्रत्येक प्रहरी कर्मचारीसँग १० हजारदेखि २५ हजारसम्म लिएर हेरफेर गर्ने गरेकाे बुझिएकाे छ ।
प्रशासन शाखाबाट विभिन्न युनिटमा पठाइने प्रहरी कर्मचारीबाट लिइने रकम मध्ये जवान र हवल्दारबाट मासिक ५ हजार देखि १० हजार लिने सर्तमा पठाउने गरिएकाे पीडित प्रहरीहरू बताउँछन् ।
त्यस्तै प्रहरी नायब निरीक्षक र सहायक निरीक्षकसम्मकाबाट १५ हजार देखि २५ हजारसम्म लिने गरेको स्रोतको भनाइ रहेकाे छ । जनताकाे जिउधनकाे सुरक्षाका लागि खटिने प्रहरीबाट यसरी रकम असुलिदा युनिटमा जाने प्रहरीले कस्ताे सुरक्षा देलान् भन्ने प्रश्न पनि खडा भएकाे छ ।
यसरी रकम उठाउने प्रहरी नायब निरीक्षक काफ्ले र प्रहरी सहायक निरीक्षक आले दुबै जना प्रहरी संगठनमा विवादित जुनियर अधिकृत हुन् । प्रहरी नायब निरीक्षक काफ्लेको दरबन्दी ललितपुर परिसर र प्रहरी सहायक निरीक्षक आलेको दरबन्दी १ नम्बर प्रदेशको बिराटनगर भए पनि वीरगंज छाेड्न नखाेज्नुकाे पछाडी यिनिहरूकाे २ नम्बर गर्ने गिराेहसँग राम्रै उठबस भएकाे बताइन्छ ।
विवादित यि दुबै प्रहरीलाई तत्कालिन् एसपी सोमेन्द्रसिंह राठौरले प्रशासन शाखा र घुमुवाबाट हटाएका थिए तर, राठाैरकाे सरूवासँगै वीरगंजकाे कमाण्ड सम्हाल्न गएकी एसपी गंगा पन्तले यि दुइ प्रहरीलाइ घुमुवा र प्रशासनमै राखेर काम लगाएकी थिइन् । पन्तकाे सरूवासँगै त्यहाँकाे कमाण्ड सम्हाल्न गएका एसपी वेलबहादुर पाण्डेले उनीहरूलाइ दरबन्दीमा पठाउनुकाे सट्टा त्यही राखिनुले उनीमाथि पनि प्रश्न चिन्ह खडा भएकाे छ ।
नेपाल प्रहरी भित्र राम्राे छबि बनाएका पाण्डेले यस्ता विवादितलाइ आफ्नाे मातहतमा राख्दा उनकाे विगतमा रहेकाे साँख गिर्ने कुरालाइ मध्येनजर राखेनन् भने उनीमाथि पनि अनेक शंका उत्पन्न हुने बताइन्छ । पर्सा प्रहरी कर्मचारीले व्यक्ति सरूवा भए पनि प्रवृत्ती उस्तै भएपछि पुरानाे बाेतलमा नयाँ रक्सी राखिएजस्तै एसपी पाण्डेकाे आगमन पनि हुने त हाेइन भन्ने चर्चा परिचर्चा चलेकाे छ ।