वीरगन्ज, शनिबार २५ । दिपावली तिहार तथा छठ पर्वलाई लक्षित गरि ठुलो मात्रामा भित्राएको प्रतिबन्धित बारुदजन्य विष्फोटक पटका पर्सा प्रहरीले नष्ट गरेको छ।
पर्साको विभिन्न सिमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राएको करिब ८ लाख रुपैयाँ बराबरको पटका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।
विभिन्न नाकाहरुबाट भित्राएको जगमग बम, आलु बम, रकेट , झिरझिरी, नागिन पटका, चक्रबर्ती लगायतका पटकाहरु बरामद गरेको प्रहरी उपरीक्षक शाहले बताए ।
चाडपर्बको मध्यनजर गरि सिमा नाकाबाट पटकाहरु तस्करीको माध्यबाट भित्रन थाले पछि प्रहरीले निगरानी बढाउदा सो बराबरको पटका बरामद गर्न सफल भएको शाहले बताए।
बरामद गरेको पटकाहरु जिल्ला प्रहरी कार्यालय पर्साको परिसर भित्र खाल्डो खनेर स्थानीय प्रतिनिधि, संचारकर्मी र स्थानीयबासिहरुको रोहवरमा नष्ट गरेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।