पर्व नजिकिएसँगै स्वदेशतिर लर्को

रिपोर्ट नेपाल | 2022 Sep 23 | 07:43 am 93

काठमाडौं, असाेज ७ः रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् । छिमेकीमुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ ।

भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट दैनिक भित्रिरहेको सीमास्थित सशस्त्र प्रहरी पोस्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोस्टका अनुसार भारतका मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्लीलगायत सहरबाट हालसम्म १ हजार १ सय ५३ जना भित्रिएका छन्। चाडपर्व नजिएकाले भारत जानेभन्दा स्वदेश फर्किनेको संख्या ह्वात्तै बढ्न थालेको छ ।

लामो समयदेखि भारत मुम्बईमा रोजगार गर्दै आएका डोटी आदर्श गाउँपालिकाका रमेश खड्का चाडपर्व मनाउन फर्केको बताउँछन् । ‘दसैंमा सबै एकसाथ भेटघाट हुन्छ,’ उनी भन्छन्, गाउँघरकै खाना पकाई खाई रमाइलो गरी मनाइन्छ ।’ उनकै गाउँका नरीबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकाले दसैं टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भिœयाउन भारत पञ्चाबबाट आएको सुनाउँछन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत सहर जाने गर्छन् ।

काठमाडौंबाट बाहिरिने बढी
दसैं–तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन्। नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झन्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर संख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।

सरकारले गत १० असोजबाट २५ ठाउँमा यात्रु सहायता कक्ष व्यवस्था गर्न लागिएको छ । तोकिएभन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुव्र्यवहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे । ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न प्रहरी र महासंघको नम्बर टाँस्ने उनको योजनामा छ ।

उनले भने, ‘अघिल्ला वर्षमा कोभिडका कारण उत्साहपूर्ण नभएकाले यो वर्ष केही उत्साह थपिने अनुमान छ ।’ चितवनसम्म सडकको अवस्था राम्रो भए पनि बुटवल– नारायणगढ सडक नाजुक भएकाले आवतजावत गर्न अप्ठ्यारो भएको जनाइएको छ । अहिले नारायणगढबाट बुटवलसम्म पुग्नका लागि नै ५ घण्टा लाग्ने अवस्था छ ।

उपत्यकाबाट बाहिर र बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुका लागि सरकारले गत शनिबारबाट अग्रिम टिकट खुलाइएको छ । यातायात व्यवस्थापनलाई सहज बनाउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट खुलाएको हो।

विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो। यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने र यात्रुलाई छुट र सहुलियत प्रदान गर्ने निर्णय भएको थियो। कोभिड–१९ महामारी मध्यनजर गर्दै मास्क प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ ।

उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी, मजदुरसँग सहकार्य गरेर प्रभावकारी अनुगमनको व्यवस्था गर्ने बताइएको छ । सुरक्षित रूपमा यात्रु घर जान सक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायत सबै लाग्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । सबै क्षेत्रले यात्रुवाहक सवार ीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालवाहक सवारीसाधनलाई दिनुपर्ने उनको जोड छ ।

अहिले अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक १८ र २० चक्के सवारीसाधन चल्नुहुँदैन । यातायात व्यवस्था विभागले १५ गतेबाट यी मालवाहक सवारीसाधन रोक्ने निर्णय गरेको छ । विभागले यात्रुको जानकारी लागि ठाउँठाउँमा भाडाको दर राख्नुपर्ने विभागले जनाएको छ । सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गाडी चार थरीका गाडीमा तोकिएको भाडा लिन जनाइएको छ ।

यात्रुले तोकिएको ठाउँमा नै गएर टिकट काट्दा मात्रै ठगिनबाट बच्न सक्नेछन्। विभागले १४ ठाउँमा नागरिक सहायता कक्षको व्यवस्था गर्ने भएको छ । त्योसँगै सडक राम्रो बनाउन समन्वय गर्ने, ट्राफिक व्यवस्थापन विभागको काम हो। यातायात व्यवसायीले भएका सवारीसाधनमार्फत यात्रुलाई गन्तव्यसम्म पु¥याउने वरिष्ठ उपाध्यक्ष सिटौला बताउँछन् । यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने महासंघले जनाएको छ ।

शनिबारदेखि नै टिकट लिन थाले पनि असोज १० गतेबाट धेरै यात्रु जानेछन् । यात्रु सजिलो रूपमा आवतजावत गर्न सबैले आआफ्नो भूमिका निभाउनुपर्ने उनले बताए । व्यवसायी, मजदुर र ट्राफिक, विभागले भूमिका निभाएपछि मात्रै यात्रु सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सक्ने उनले बताए । सरकारले अनलाइन टिकट सुरु गरे पनि त्यसको प्रयोग अपेक्षाअनुसार बढ्न सकेको छैन ।

पहिलेभन्दा केही बढे पनि अझै व्यवस्थित हुन नसकेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । अहिलेको समयमा सधैं यात्रु लाममा लागेर नहुने भए पनि सरकारले अनलाइन टिकटलाई प्रभावकारी बनाउन सकिरहेको छैन । प्रविधि विकासदेखि सडक मर्मत विषयमा समयमा नै सुरु गर्नुपर्ने भए पनि चाडपर्व नजिकै आएपछि मात्रै सबै पक्षले ध्यान दिने उनले बताए । यात्रुले काउन्टरमा टिकट काटेपछि हेरेर मात्रै हिँड्नुपर्ने उनको सुझाव छ ।

दसैं–तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासंघले जनाएको छ । सडकमा रहेका खाल्टाखुल्टी र पहिरो पन्छाउन ‘हेभिइक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न वरिष्ठ उपाध्यक्ष सिटौलाले सडक विभागलाई आग्रह गरे । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्टाखुल्टी रहेका छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहेको उनी बताउँछन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.