परिचयपत्र लिन आउने असक्तलाई बाटो खर्च 

रिपोर्ट नेपाल | 2022 Jun 08 | 08:14 am 1569

दैलेख, जेठ २५ः दुल्लु नगरपालिकाले नगरपालिकामा परिचयपत्र लिने आउने पूर्ण असक्त अपांगता भएका नगरबासीलाई आउँदा–जाँदा बाटो तथा खाजा खर्च दिने भएको छ। दुल्लु नगरपालिकाले नगरभित्र वडाको दूरी हेरेर बाटो खर्च दिने निर्णय गरेको हो।

पूर्ण असक्त (क) वर्गको परिचयपत्र पाउनेलाई वडा हेरेर बाटो खर्च निर्धारण गरेको हो, जसमा टाढा रहेका ११, १२ र १३ वडाको हकमा एकपटक आएवापत २ हजार ५ सय रूपैयाँ र १, २, ३, ६, ९ र १० का लागि २ हजार रूपैयाँ दिने निर्णय गरिएको छ।

त्यस्तै ४, ५, ७, ८ का लागि १ हजार रूपैयाँ बाटो तथा खाजा खपूर्ण असक्त अपांगता भएकालाई पहिलोपटक आउनेलाई निर्णय भएको नगर प्रमुख भरत रिजालले बताए। ‘परिचयपत्र बनाउन छुटेका र उनीहरू नगरपालिका आउन नसक्ने अवस्था भएकाहरूका हकमा पहिलोपटक आउनेलाई यातायात खर्च दिने निर्णय भएको हो’, नगर प्रमुख भरत रिजालले भने, ‘यातायात खर्चले नगरपालिकासम्म आउन सजिलो हुनेछ।’

नगरपालिका आउन नसकेर परिचयपत्र बनाउन नछुटून् भनेर परिचयपत्र बनाउन आउँदा एकपटकलाई भत्ता दिने निर्णय गरेको नगर प्रमुख रिजालले बताए। दुल्लु भौगोलिक हिसाबले ठूलो क्षेत्र ओगटेको नगरपालिका हो। पूर्ण असक्त अपांगता भएका व्यक्ति परिचयपत्र लिन नगरपालिकासम्म पहुँच गराउन नगरपालिकाले राम्रो निर्णय गरेको पञ्चकोशी अपांगता मञ्चका अध्यक्ष जितबहादुर जिसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.