बर्दिया, असार ४ । क्रिष्टियन धर्ममा आस्था राखे पछि परमेश्वरले रोग मात्र होइन भोकको समेत अन्त्य हुन्छ भन्दै गाउँ बस्तीका गरीब दुःखी जनताका घरमा गएर धर्म परिवर्तन गराउने पादरीहरुले कति सम्म गर्दा रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण बर्दियाको गुलरियामा घटेको घटनाबाट छर्लङ्ग हुन्छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आफ्नै घरमा उपचार गराईरहेका ८ वर्षिय अजय यादवलाई अस्पताल लैजानु पर्दैन परमेश्वरले ठिक गर्नु हुन्छ भन्दै चर्चमा लगि प्राथना गराउँदा उनको अकालमा मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ तुलापुरमा संचालीत सत्य बचन परम ईश्वरीय मार्ग दर्शन नामक संस्थामा रहेका राजु शाही, गिता शाही, र निशा नेपाली नामका व्यक्तिहरुले चर्चमा ल्याएर भ्रममा पारी बालकका अभिभावकले उनीहरुको कुराप्रति विश्वास राख्दा बालकले ज्यान गुमाउनु परेको हो ।
आफूलाई प्रलाेभन देखाइ दवाइ गरिरहेकाे बच्चलाइ चर्चमा लैजान बाध्य बनाएकाे भन्दै बालका बावु प्रमुख यादवले जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुरमा जाहेरी दरखास्त पेश गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियाबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेकाे जिप्रका बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बाेहाेराले जनाएका छन् ।