पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न संसदीय समितिकाे निर्देशन

| 2019 Jun 14 | 02:30 pm 1769

काठमाडाैं, जेठ ३१ : संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएकाे पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। केहि समयअघि समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो।

समितिले पुलको पुनः डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कार्वाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.